यो सहर र मेरो प्रेम कथा


यो एक सपनाको सहर हो रे | मैले देखेको दुनियाँ सानै छ | २० वर्षको मेरो यो यात्रा मैले यहि सहरमा सुरु गरेको हूँ | तर म यो सहरलाई धेरै चिन्दिनँ,  आसयो सहर आसपासका ठाउँ त मेरालागि सबै बिरलै छन् | सहरहरु ठाउँमात्र हैनन्, यो कुरा म अब बल्ल बिस्तारै थोरै बुझ्दैछुँ | 

एउटा सहरको रुप, रंग मात्र हैन, आफ्नै छुट्टै कथा हुन्छ, आफ्नो छुट्टै एक पहिचान हुन्छ | एक सहरको प्रत्येक घर, प्रत्येक गल्ली अनि बाटाहरुमा लुकेका सपना र आशाका किरणहरु | बिहानी र साँझका रंगमा रुमलिंदै, रंग बदल्दै, बादलसँग लुकामारी खेल्दै केही सपनाहरु माथि-माथि आकाशतिर लाग्छन् अनि केही सपनाहरु चाँहि यहि सहरका ठूला-ठूला घरका पर्खालसँग जुध्दै हारिरहन्छन् | केही सपनाहरु यही सहरका मानिसहरुमाझ अल्झिएर बिलाउंछन् | अनि केही सपनाहरु साँझ र बिहानीको दोसांधमै बिलउंछन् |
एका बिहानै कलेज जाने बेला मैले देख्ने सहर र सांझ अफिसबाट फर्किंदा मैले देख्ने सहर नै मलाई बेग्लै लाग्छ अचेल | आफै हिंड्न, डुल्न जाने देखि चिनेका बाटाहरुले बिहानी घाम उदाउनुअघि मलाई देखाउने रंग अनि त्यस्तै रंगले रंगिएका मेरा सपनाहरु सांझपख घर फर्किंदा अर्कै रंगमा रंगिन्छन् | साँझ, यो सहर मलाई बेग्लै लाग्छ, साँझ, म यो सहरको अन्धकार देख्छु, बाटोमा अटाई-नअटाई लाम लागेर बसेका दुई पांग्रे, चार पांग्रे अनि अझ ठूलाठूला गाडीहरुका स-साना पहेंला र राता बत्तीका किरणसँग म मेरा सपनाका रंग बदल्छु|
हरेक दिनजसो मेरा सपनाहरुले यो सहरको रंगसँग सम्झौता गरिरहँदा, म बेलाबेला टोलाउंछु अनि सम्झन खोज्छु बाल्यकालको आफूलाई अनि मेरा बालस्वप्नलाई | यहि टोलाउने क्रममा, धेरैजसो मेरो मन बहलिन्छ, यहि सहरका बाटामा मेरा पाईला केहि डगमगाउछन् | अनायसै मनलाई खै के कुराले पिरोल्छ, मेरा आँखा थोरै रसाउँछन् | यी पलहरुमा यो सहर मेरालागि रोक्दैन, मेरा पाईलाहरु पनि बिस्तारै अघि बढ्छन्, सहरको रंगहरुसंगै मेरा आँशुहरु रंगिन्छन् |
सम्झना-बिर्सनाको यो खेलमा म मेरी साथीलाई धेरै सम्झिन्छु...उनी यो सहरमा अहिले छैनन्, उनको सहर अहिले बंग्लादेशको ढाकाको छेउछाउमा छ | उनको सहरले पनि यसैगरि रंग फेर्छ रे हरेक दिन | मलाई लाग्छ उनी यहाँ हुँदीहुन् त मलाई यो सहरको रंगहरुसँग घुलमिल हुन अलिकति भएपनि सजिलो हुन्थ्यो की... उनी यहाँ हुँदीहुन् त सायद म यी बाटोहरुमा अलमलिएर बेलाबेलामा भकानो छाडेर अलि कम रुन्थें होला की... ती गादिहरुका स-साना बत्तीहरु देखेर म अझ बढी खुशी हुन्थें होला की...
मैले यो सहरका हरेक गल्ली-गल्ली, बाटाहरु अनि कुनाकुनामा लुकेका चिया पसल र त्यहाँका कथाहरु सबै नचिने पनि, मलाई यो सहर आफ्नै लाग्छ | फराकिला बनाइएका बाटाहरु अनि धुम्म बन्दै गएको यो सहरको छानो, मेरा लागि आँगन र कौसी जस्तै लाग्छ | बाटो बिराएर कहिलेकाँही अलमलिएर, आँशुका थोपा तपतप झर्दा, गाडीका ती पहेंला अनि राता बत्ती नियाल्दै म मनलाई सम्हाल्छु: “म यो सहरलाई यति माया गर्छु, के यो सहरले मलाई र मेरा सपनाहरुलाई घर पुग्ने बाटो पनि नबताउला?”


Comments

Post a Comment

Popular posts from this blog

Heart on my sleeves

At the Sea

The Journey