एउटा अठोट
प्रत्येक पाईला भासिंदैछ अघि बढूं कसरी ?हरेक आवाज बिलाउँदैछ सबै कुरा भनूँ कसरी ?
आँट बटुलेर अघि सर्दा आँशु बनी झर्छ किन ?
ज्योति बनी डोर्याउनेहरु मोड-मोडमा हराउंछन् किन ?
आफू आफैसँग भागिरहेछु थाहा छैन किन ।
गन्तव्य खै कहाँ हो थाहा छैन किन ।
शब्द कोरेर सम्हालिन खोज्दा अझै लर्बराउँछु ।
आशा लिएर उठ्न खोज्दा अझै पछारिन्छु ।
जिन्दगी यस्तै हो भनी किन भन्छन् सबै ?
बाटो अप्ठ्यारो छ भनी पछि किन सार्छन् सबै ?
साथी कोही हुन्नन् भो नजाऊ भन्छन् किन ?
एक्लै आएथेँ म, एक्लै जानु छ , स्वतन्त्र उड्न देऊ ।
आकाश छुन नसकेपनि धर्तीमै केही गर्नेछु ।
बाटो आफै बनाउंदै छु , छैन भनी नपन्छाऊ न ।
पाइला सानै होलान् , आँट थोरै होला, तर म गर्छु र म बन्छु।
Comments
Post a Comment